मृगौलामा फोकाफोकी देखिने मृगौला रोग (पोलिसिस्टिक किड्नी डिजिज) मृगौलाको दीर्घरोगको पछाडिको चौथो मुख्य कारण हो । यो रोगमा अरु अङ्गहरूमा पनि पानी फोका देखिन सक्छ ।यी फोका देखिन सक्ने अन्य अङ्गहरू कलेजो, मस्तिष्क, आन्द्रा, पित्तथैली, पाठेघर आदि हुन् ।
पी. के. डी. मा मृगौला कसरी प्रभावित हुन्छ ?
- वंशाणुगत पी. के. डी. मा दुईवटै मृगौलामा सिस्ट (पानीले भरिएका फोका) देखिन्छ ।
- पी. के. डी. मा फोकाको आकार फरक हुन्छ (एउटा थोप्लो देखि १० सेन्टिमिटर वा त्यो भन्दा बढी व्याससम्म ) |
- समयसँगै फोकाको आकार बढ्छ र बिस्तारै यसले मृगौलाका स्वस्थ तन्तुहरूलाई क्षति पुऱ्याउँछ ।
- यस्तो क्षतिले रक्तचाप वृद्धि गर्छ, पिसाबमा प्रोटिन वृद्धि गर्छ र मृगौलाको कार्यक्षमता कम गराई दीर्घरोग निम्त्याउँछ ।
- लामो अवधिमा मृगौलाले काम गर्न छोड्छ र अन्तिम चरणमा पुगी डायलाइसिस वा प्रत्यारोपण अत्यावश्यक हुन जान्।
पी. के. डी. का लक्षण
वंशाणुगत पी. के. डी. भएका धेरै मानिसहरूमा दशकौंसम्म कुनै लक्षण देखिदैन । पी. के. डी. भएका अधिकांश बिरामीहरूमा ३० देखि ४० वर्षको उमेरपछि लक्षणहरू देखिन थाल्छन् । पी. के. डी. का सामान्य लक्षणहरू निम्न छन् :
- उच्च रक्तचाप
- ढाड दुखाइ, कम्मर भन्दा माथिको भाग दुखाइ तथा पेट सुन्निनु
- पेटभित्र ठूलो वस्तु भएजस्तो अनुभव हुनु,
- पिसाबमा रगत वा प्रोटिन देखिनु,
- मुत्रनली संक्रमण र मृगौलामा पत्थरी
- मृगौलाको कार्यक्षमतामा निरन्तर कमी हुँदै जानाले मृगौलाको दीर्घरोगका लक्षणहरू देखापर्नु
पी. के. डी. वंशाणुगत मृगौला रोग हो र यो मृगौलाको दीर्घरोगका प्रमुख कारणहरू मध्ये एक हो ।
पी. के. डी. को निदान
वंशाणुगत पी. के. डी. का लागि गरिने निदानात्मक परीक्षण निम्न छन् :
- मृगौलाको अल्ट्रासाउन्ड :
- यो पी.के.डी.का लागि गरिने सबैभन्दा सजिलो निदानात्मक परीक्षण हो र यसबाट मृगौलामा भएको फोका सजिलै पहिचान हुन्छ।
- सीटी स्क्यान वा एम. आर. आई. : यी परीक्षणहरू बढी महँगा छन्। यी परीक्षणबाट अल्ट्रासाउन्डबाट पनि नदेखिने साना फोकाहरू देखिन्छन्।
पी.के.डी.का बिरामीका सबै छोराछोरीलाई सो रोग हुने सम्भावना हुन्छ कि हुँदैन ?
हुँदैन । पी. के. डी. एउटा वंशाणुगत रोग हो जसमा बाबु वा आमालाई वंशाणुगत पी. के. डी. छ भने उनीहरूका छोराछोरीमा पी. के. डी. हुने ५० प्रतिशत सम्भावना हुन्छ। पी. के. डी. एउटा वंशाणुगत मृगौला रोग हो, त्यसैले पी. के. डी. भएका बिरामीका परिवारका वयस्क सदस्यहरूको परीक्षण गरौं ।
पी. के. डी. को रोकथाम
पी.के.डी.मा फोका उठ्न नदिने वा फोका कम गर्ने खासै कुनै उपचार छैन ।यो रोग भएका परिवारका सदस्यहरूको चाँडो निदान गर्नुका धेरै फाइदा छन् । चाँडो निदान भयो भने पी. के. डी. को राम्रो उपचार सम्भव हुन्छ। उच्च रक्तचापको चाँडो निदान र उपचारले पी. के. डी. मा मृगौलाले काम गर्न छोड्ने समस्याको रोकथाम गर्छ । पी. के. डी. बिरामीको जीवनशैलीमा परिवर्तन तथा खानपिनको परिवर्तनबाट तिनको मृगौला र मुटुको रक्षा हुन्छ ।
पी. के. डी. को उपचार
पी. के. डी. एउटा निको नहुने रोग हो, तर किन यसको उपचार गर्नुपर्छ ?
- मृगौला जोगाउन तथा मृगौलाको दीर्घरोगलाई अन्तिम चरणको मृगौलाको रोग तर्फ जाने गतिलाई मन्द पार्न |
- लक्षणहरूलाई नियन्त्रण गर्न र जटिलता आउन नदिन ।
पी. के. डी. को उपचारका लागि महत्वपूर्ण कुराहरू :
- प्रारम्भिक निदानपछिको धेरै वर्षसम्म बिरामीमा कुनै लक्षण देखिदैन त्यसैले उपचार गर्नुपर्दैन । त्यस्ता बिरामीलाई नियमित रूपमा परीक्षण र अनुगमन आवश्यक हुन्छ ।
- उपचारको लक्ष्य मृगौलाको दीर्घरोग तर्फको प्रगतिलाई ढिलो गराउनु र मृगौला संक्रमण, पत्थरी र पेट दुख्ने समस्याहरूको समाधान गर्नु नै हो ।
- उच्च रक्तचापको राम्रो नियन्त्रणबाट मृगौलाको दीर्घरोग तर्फको गतिलाई मन्द पार्न सकिन्छ ।
- मृगौलालाई हानि नपुऱ्याउने औषधीबाट दुखाइ नियन्त्रण गर्ने । फोका बढ्ने कारणले पी. के. डी. मा लामो समयसम्म दुखाइको समस्या हुन्छ ।
- उचित एन्टिबायोटिकको प्रयोग गरी मुत्रनलीको संक्रमणको तत्काल उपचार ।
- बिरामीलाई सुन्निने समस्या छैन भने प्रशस्त तरल पदार्थको सेवनले मुत्रनलीको संक्रमण र मृगौलाको पत्थरीको रोकथाममा मद्दत गर्छ । मृगौलाको दीर्घरोगको सही उपचार ।
- केही बिरामीहरूमा दुखाइ,रगत बग्ने समस्या र संक्रमणले गर्दा शल्यक्रिया गरी वा विकिरणको माध्यमबाट फोका हटाउनुपर्ने हुन सक्छ ।
पी. के. डी. को बिरामीले कहिले चिकित्सकलाई भेट्ने ?
पी. के. डी. को बिरामीले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई भेट्नुपर्छः
- ज्वरो आएमा, अकस्मात पेट दुखेमा वा पिसाब रातो भएमा ।
- टाउको निरन्तर वा सारै दुखेमा ।
- बढेको मृगौलामा दुर्घटनावश चोटपटक लागेमा ।
- छाती दुखेमा, खानामा रुची कम भएमा, बढी बान्ता आएमा।
- मांसपेशीमा अत्यन्त कमजोरी महसुस भएमा, अचेत भएमा वा मूर्छा परेमा वा चक्कर लागेमा ।
पी. के. डी. मा कुनै लक्षण नदेखिने व्यक्तिहरूलाई प्रारम्भमा धेरै वर्षसम्म उपचार नचाहिन सक्छ ।





Leave a Reply